इलामको हरियो चिया बगान, कुहिरोले ढाकिएको बिहान, अनि शीतले भरिएको साँझहरू सधैँ अनौठो सौन्दर्य दिन्थ्यो। यही सौन्दर्यपूर्ण शहर इलाममै जन्मिएका थिए – आकाश र अनिशा। दुवै एउटै टोलमा हुर्किए, एउटै स्कुलमा पढे । बाल्यकालदेखि नै अनिशा र आकाशबीच गाढा सम्बन्ध थियो। कक्षाकोठामा अनिशा सधैँ पहिलो बेन्चमा बस्थी भने आकाश पछिल्लो बेन्चमा, तर हरेक विदा बेलामा दुवै सँगै हुन्थे। कहिले चिया बगानतिर घुम्दै, कहिले बालक्लबको नाटकमा अभिनय गर्दै।
कक्षा १० सकेपछि जीवनले एउटा मोड लियो। अनिशाको बाबु आफ्नो चियाको व्यवसाय प्रबर्दन गर्ने सिलसिलामा अष्ट्रेलिया पुगेपछि उनी पनि आफ्ना परिवारसहित सिड्नी बसाइँ सरिन। आकाश भने इलाममै बसेर उच्च शिक्षा पढ्दै गयो। अनिशा गएपछिका दिनहरू आकाशका लागि एकदमै खाली खाली लाग्थे। उनीहरूबीच कुनै आधिकारिक प्रेम प्रस्ताव कहिल्यै भएन, तर मनभित्र गहिरो भावना पलाइसकेको थियो।
समय बित्दै गयो। अनिशा सिड्नीमा नै स्थायीत्व बनाउँदै गइन्। उनले पढाइ सकेर एक अस्पतालमा नर्सको जागिर पाइन। आकाश इलाममै रहेर शिक्षण पेशामा लागे, गाउँका युवाहरूलाई पढाउँदै, सामाजिक कार्यमा लाग्दै। तर राजनीतिले आकाशलाई थकित बनाउँदै लग्यो। स्थानीय स्तरमा भएका भ्रष्ट्राचार, अस्थिरता, अनि विकासको नाममा हुने दोहोरो खेलले उनको मन वितृष्णाले भरिँदै गयो। उता, अनिशा २० वर्षपछि पहिलोपटक नेपाल फर्किने निर्णयमा थिइन्। धेरै समय विदेश बसेपनि, मनको एउटा कुनामा इलामको सम्झना सधैँ ताजै रहन्थ्यो।
२० वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनिशाको पाइला पर्थ्यो। त्यही दिन आकाशको पनि अष्ट्रेलिया जाने जाने तयारी थियो। अनि मन मा थियो सिड्नी पुगेर जीवन सुरु गर्ने योजना थियो - जहाँ जीवनशैली सहज लाग्थ्यो अनि भित्रि मन देखि चाहाना थियो आफ्नो प्रियतमालाइ भेट्न पाइन्छ कि भन्ने । जब उनी विमानस्थल पुगे, पुराना सम्झनाले मन भरिएको थियो।
विमानस्थलको आगमन कक्षमा जब आकाशले एउटा चिनेजस्तो अनुहार देखें, उनको हर्षको सीमा रहेन। सेतो कोट लगाएकी, हल्का कालो चस्मा लगाएकी, केही पर उभिएकी थिइन् – अनिशा, आकाश को कल्पना को अनिशा, रानी, मायाकी खानी, प्रेम, अधुरो प्रेम
“अनिशा !!” – आकाशले बोलाउदा उनी एकछिन चकित भइन्।
“आकाश! अरे! यत्रो वर्षपछि तिमी यहाँ?” – अनिशाको आँखामा आश्चर्यसँगै खुशी मिसिएको थियो।
दुवै एकआपसलाई टोलाउँदै हेरिरहे। एकछिन त तिनीहरू बोल्नै सकेनन्। समय, परिस्थितिले तिनीहरूलाई टाढा बनाएको थियो, तर मनको गहिराइमा लुकेको प्रेम झल्किन थाल्यो। उनीहरू एयरपोर्टकै क्याफेमा बसेर कुरा गर्न थाले।
“तिमी किन अष्ट्रेलिया जान लाग्यौ?” अनिशाले सोधिन्।
“यहाँका अस्थिरता, झुटा आश्वासनले मन दिक्क भइसक्यो। सायद केही नयाँ गर्न, नयाँ जीवन सुरु गर्न चाहन्थेँ।” – आकाशको जवाफ थियो।
“तर म त सिड्नी छोडेर फर्किएकी। जीवनभर परदेश भोगें ।अब बाँकी जीवन आफ्नै देशमा, आफ्नै ईलाममा बिताउन मन लागेको छ।” – अनिशाले मुस्कुराउँदै भनिन्।
दुवै केही बेर मौन भए। आकाशले अचानक सोधे, “अनिशा, तिम्रो श्रीमान खै ?”
अनि अनिशाले भाबुक हुदै भनिन - आकाश, सायद मेरो मनमा कोहि अझै सम्म छ, त्यसैले मैले कहिल्यै बिबाह गरिनँ। सायद मनले कहिल्यै स्वीकारेन। अनि तिमीले?”
आकाश मुस्कुराए, “म पनि एक्लै छु। सायद तिम्रो पर्खाइमा ।”
त्यो उत्तरले दुवैको आँखाबाट खुसि को आँशु बग्न थाल्यो । समय धेरै बितिसकेको थियो। तर भावनाहरू भने त्यही थिए, जसरी उनीहरू कक्षा १० मा छुट्टिएका थिए।
त्यस दिन उनीहरूले निर्णय गरे कि अब आफ्नै देशमा केहि गर्ने अनि विदेश घुम्न मात्र जाने, अनि अनिशाले आकाशलाई अंगालोमा बाँधेर कान मा खुसुक्क भनिन “आकाश, म्यारी मी” अनि इलाम फर्कन मन बाटै आग्रह गरिन्। अनि दुवै मिलेर फर्किए – पुरानो शहर, पुराना सम्झनाहरू र नयाँ भविष्य बनाउन।
इलाम फर्केर उनीहरूले मिलेर एउटा सामुदायिक पुस्तकालय खोल्ने निर्णय गरे – जहाँ युवाहरूले ज्ञान लिन सकून्, भविष्य देख्न सकून्। आकाशले पुनः शिक्षण सुरु गरे, अनिशाले स्वास्थ्य शिविरहरू सञ्चालन गर्न थालिन्।उनीहरूको जीवनको प्रत्येक दिन एक अर्कासँग बित्दै थियो, मिठो समझदारीमा, सम्मानमा, अनि शान्त प्रेममा अनि इलामको हरियो बगानमा, उनीहरूको प्रेम फुल्न थाल्यो - मौन अनि नमेटिने ।
स्थानिय तहहरूमा देखिएको सूचना प्रवाहको अवस्था आर्थिक र सामाजिक जनचेतना र यसमा डिजिटल मिडियाको प्रभावकारि भूमिकालाई अध्ययन गर्दै biratinfo.com को स्थापना गरिएको हो। आजको युग भनेको डिजिटल सञ्चारको युग हो, त्यसमा पनि डिजिटल पत्रकारिता र यसबाट प्रकाशित हुने समाचारहरूले आफ्नै मान्यता राख्छन् ।